रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउँछौं : गृहमन्त्री खाँण

रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउँछौं : गृहमन्त्री खाँण

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताएका छन्।

रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने बताए।

गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै कांग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने दाबी गरे।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका खाँणले सोमबार बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरववृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘क्षेत्रबासीले मात्रै होइन्, जिल्ला र सिंगो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौं,’ उनले भने, ‘हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौं।’

२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा पनि नदिने विश्वास व्यक्त गरे।

गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिंचाई तथा कृषिका साना–ठूला दर्जनौं योजना रुपन्देहीमा भित्र्याएर र ती योजनाहरू सफल तुल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको उनले स्मरण गराए। तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाइमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए।

मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरुको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको उनले जनाए।

‘स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रुपमा विकास गरिनेछ,’, उनले भने, ‘यस क्षेत्रका वासिन्दाहरुलाई रोजगारीको सुनिश्चितता गरिनेछ। यसमा म कटिबद्ध छु।’

खाँणले यसअघि सरकारका दुईदुईजना बहालवाला मन्त्री आएर औद्योगिक क्षेत्र शिलान्यास गर्न खोज्दा स्थानीयमाथि दमन भएको बताए। उनले त्यो दमनविरुद्ध आफूले आवाज उठाएको र अहिले सरकारमा आइसकेपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको बताए।

कात्तिक १४, २०७९ सोमबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।