पाँच दलीय गठबन्धनका कारण देश आर्थिक संकटमा पर्यो : निरञ्जन थापा

बुटवल : राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको बताएका छन्।
थापाले वर्तमान गठबन्धन सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताए।
उनले भने, ‘पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं।’
पाँचदलीय गठबन्धनले अहिलेसम्म प्रधानमन्त्री टुंगो लगाउन नसकेको भन्दै तीन दलीय गठबन्धनको प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।
‘नेपाली कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्नुहुन्छ, यता पाँचदलीय गठबन्धनका नेता डा. बाबुराम भटराई अबको प्रधानमन्त्री प्रचण्ड भन्नहुन्छ, यसले के देखाउँछ भने सतारुढ गठबन्धनमा स्पष्टता छैन,’ उनले भने, ‘तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली हो, उहाँले प्रधानमन्त्री बने मुलुकलाई निकास दिन सक्नुहुन्छ।’
भैरहवाका सपुत तथा रैथाने नेता दीपक बोहरालाई निर्वाचन जिताउनुपर्नेमा नेताहरुले जोड दिएका छन्। उनीहरूले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले गति लिने दावी गरे।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संयुक्त सम्पर्क कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्बर २,५ र १० को उद्घाटन कार्यक्रममा बोल्ने नेताहरूले दीपक बोहराको अगुवाइमा भएका विकास निर्माणका कार्यहरुबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जीत सुनिश्चित भएको दावी गरेका छन्।
त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमाले, राप्रपा र जसपा चुनावी अभियानमा जुटेको बताए। उनले पाँचदलीय गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाए।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष तथा एमाले नेता दीपक कुमार थापाले राप्रपा, एमाले र जसपाबीच भएको तालेमल निर्वाचनपछि पनि निरन्तरता पाउने बताए। उनले भैरहवाको पुत्र दीपक बोहरासहित तीन दलका उम्मेदवारहरूलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिए।
कात्तिक १४, २०७९ सोमबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।