पीएम कपमा पुलिसकाे लगातार दाेस्राे जित

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो।
प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए। शंकर रानाले २९ रन जोडे। राशिद खानले अविजित १६ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए। सुनिल धमला शून्य रनमा आउट भए।
प्रदेश–१ का फिर्दोस अन्सारी र सिदान्त लोहनीले १–१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो। उसका लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए।विवेक आनन्द मेहेताले १७ रन जोडे।
पुलिसका ललित राजवंशीले ५ विकेट लिँदा सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए।
जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा छ। पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले हराएको थियो।
कात्तिक १४, २०७९ सोमबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।