स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ–दानव करिडोरको काम अघि बढ्छ : पौडेल

बुटवल : पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ –दानव नदी करिडोरको काम अघि बढ्ने बताएका छन्।
करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापी नहुने बताए। पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे।
सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ–दानव करिडोर बारे छलफल गर्दै उनले विकासका नाममा कसैले पनि घर–बासविहीन हुनुनपर्ने बताए।
जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै अघि नबढ्ने स्पष्ट पारे।
‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो। विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन,’ पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदी यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईंहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन।’
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गनमा बढि केन्द्रित रहेको दाबी गरे। रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गरे।
कात्तिक १४, २०७९ सोमबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।