स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ-दानव कोरिडोरको काम अघि बढ्छ: विष्णु पौडेल

बुटवल: पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै तिनाउ–दानव नदी कोरिडोरको काम अघि बढ्ने बताएका छन्। कोरिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापी नहुने पनि स्पष्ट पारे।
पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे। सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ–दानव कोरिडोरबारे छलफल गर्दै उनले यस्तो बताएका हुन्।
जनताका लागि नै सुरु गरिएका महत्त्वकांक्षी र ठूला विकासका आयोजनाहरूमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै काम अघि नबढ्ने स्पष्ट पारे।
पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि कोरिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर–बासविहिन नबनाइने बताए। बस्तिलाई व्यवस्थित गरी कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै कोरिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।
‘यहाँको बस्ती सुरक्षाका लागि नै कोरिडोर निर्माण गर्न लागिएको हो। विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, 'भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईंहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन।'
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गरे। रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता पनि उनले गरे।
'आकाश ओढ्ने र धर्ती बिछ्याउने' सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगारी सिर्जना र शिक्षामा हुने बताए।
हरेक घर परिवार तथा युवालाई रोजगारी सिर्जना गर्न ठूला विकासका आयोजनाहरूको सुरुआत, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनको भनाइ छ।
कार्यकर्ताहरूसँगको छलफलमा बोल्दै एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार लीला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे।
विगतमा आफूले सुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले ती योजनाहरू पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दावी गरे। पर्यटकीय क्षेत्रको विकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरू आफ्नो प्राथमिकतामा रहेको उनले बताए।
कात्तिक १४, २०७९ सोमबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।