एकीकृत समाजवादी, माओवादी र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एकीकृत समाजवादी, माओवादी र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं: नेकपा एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरिने पार्टीका महासचिव वेदुराम भुसालले बताए।

पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

घोषणापत्रमा आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई प्राथमिकताका साथ समावेश गरिएको छ। उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ।

यस्तै आजै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीले पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र आज बानेश्वरमा एक कार्यक्रमबीच सार्वजनिक गर्न लागेको छ।

यस्तै भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘अजेण्डा’ समेटिएको छ। वैदिक सनातन हिन्दू राष्ट्रलगायत विषयलाई राजनीतिक मुद्दा बनाएको पार्टीले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको ‘अजेण्डा’लाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको छ।

माओवादी केन्द्रले पनि आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको घोषणापत्र आज सार्वजनिक गरिने भएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी घोषणापत्र सार्वजनिक हुनेछ।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि संविधान निर्माणको क्रममा सहमति खोज्नका लागि उसले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली नै उपयुक्त हुने निष्कर्ष निकालेको थियो।

प्रागारिक मल कारखानाको स्थापना, हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनालगायत रणनीतिक महत्त्वका अन्य आयोजना सम्पन्न गर्ने विषय पनि घोषणापत्रमा समावेश छ। राजनीतिक परिवर्तनलाई स्थायित्व दिनका लागि जनताको जीवनमा नै प्रत्यक्ष परिवर्तनको महसुस गर्ने गरी आर्थिक विकास गर्नुपर्ने र त्यसमा खासगरी सुशासनलाई विशेष जोड दिइएको माओवादीले जनाएको छ।

कात्तिक १४, २०७९ सोमबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।