दुई सातादेखि अन्धकार जुम्लामा बल्ल बत्ती बल्याे

दुई सातादेखि अन्धकार जुम्लामा बल्ल बत्ती बल्याे

काठमाडाैं : जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो। बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।

पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत् सेवासमेत अवरुद्ध भएको थियो। कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ।

जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए। बिजुलीको तार लथालिङ्ग अवस्थामा थिए। जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन।

'निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौं,'नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भने, 'क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ।'

बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पुर्याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाइँदै आएको थियो।

कात्तिक १३, २०७९ आइतबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।