
जारी टी–ट्वेन्टी विश्वकपमा भारतको पहिलो हार

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा भारतले पहिलो हार व्यहोरेको छ।
समूह २ अन्तर्गतको आइतबारको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो। १३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
उसका लागि डेभिड मिलरले नटआउट ५६ रन बनाउँदा एडन मक्रमले ५२ र तेम्बा बभूमाले १० रन जोडे। बलिङतर्फ अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र रविचन्द्रन अश्विनले समान एक–एक विकेट लिए।
त्यसअघि पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। उसका लागि सूर्यकुमार यादवले ६८, रोहित शर्माले १५, विराट कोहलीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले चार, वेनी पार्नेलले तीन तथा एनरिच नोर्टजेले एक विकेट लिए।
हारसँगै भारत अंकतालिकाको पहिलो स्थानमा रहेको भारत दोस्रो स्थानमा झरेको छ। दक्षिण अफ्रिका पाँच अंकसहित पहिलो स्थानमा छ।
कात्तिक १३, २०७९ आइतबार २०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।