गण्डकी एमालेको प्रतिबद्धता : पाँच हजार गरिबलाई राहत वितरणसँगै निःशुल्क प्राविधिक शिक्षा

गण्डकी एमालेको प्रतिबद्धता : पाँच हजार गरिबलाई राहत वितरणसँगै निःशुल्क प्राविधिक शिक्षा

पोखरा : एमाले गण्डकी प्रदेश कमिटीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छ।

‘सुशासन, समृध्दि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ एमाले गण्डकीले आइतबार घोषणा पत्र सार्वजनिक गरेका हो।

आगामी चुनावपछि सरकार बनेको अवस्थामा एमालेले पाँच वर्षमा सम्पादन गर्ने कार्ययोजना सहित २४ पृष्ठको प्रतिबद्धता पत्रमा सुशासनहित जनताको आधारभूत आवश्यकतालाई पूरा गरेर प्रदेशलाई समृद्ध र बिकसित बनाउने उल्लेख गरेको छ।

त्यस्तै प्रतिबद्धता पत्रमा प्रदेशमा रहेका मुख्य राजमार्ग तथा स्थानीय सडकको दूरी छोट्याउन सुरुङ मार्ग निर्माण गर्ने, विगतका अपूरा योजनालाई पूरा गर्ने, करको दर नभई दायरा बढाएर राजस्व वृद्धि गर्ने, पोखरा–मुग्लिन सडकखण्डमा फुटट्र्याक, साइकल लेन निर्माण गर्ने, ‘एक घर एक रोजगार’ अभियानमार्फत रोजगार नभएको परिवारमा रोजगारी दिने सहितका महत्वाकांक्षी योजना प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेको छ।

त्यस्तै, प्रदेशका अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे जस्ता संरक्षण क्षेत्रबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत प्रदेश सरकारले पाउने व्यवस्था गर्ने र २५ प्रतिशत स्थानीय पालिकामा वितरण गरी बाँकी संघ सरकारलाई दिने एमालेको घोषणा छ।

त्यस्तै पाँच हजार गरिब, असहाय, अल्पसंख्यक, पिछडिएका वर्गका विद्यार्थीलाई तालिम र रोजगारसँग जोड्ने योजना एमालेको छ।

गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको नागरिकको पहिचान गरी परिचयपत्र वितरण गर्ने र उनीहरुलाइ राहतका प्रदान गर्ने एमालेले घोषणा गरेको छ।

प्रदेशका प्राथमिक स्वास्थ् केन्द्र, प्रादेशिक अस्पतालहरूमा डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ।

गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ देखि सीप विकास तालिमको व्यवस्था गर्ने एमालेले जनाएको छ।

कात्तिक १३, २०७९ आइतबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।