पीएम कपमा दीपेन्द्रकाे शतक, पुलिसद्वारा बागमती प्रदेश १९२ रनले पराजित

पीएम कपमा दीपेन्द्रकाे शतक, पुलिसद्वारा बागमती प्रदेश १९२ रनले पराजित
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

आइतबारदेखि काठमाडौंमा शुरु पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो।

मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो। पुलिसले दिएको २ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनिङ खेले। 

यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए। बागमतीका नन्दन यादबले २ तथा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले १/१ विकेट लिए।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन् । 

हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ। यस्तै उपविजेताले ५ लाख पाउने छ। सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्।

कात्तिक १३, २०७९ आइतबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।