बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील, ३४ संवेदनशील

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील, ३४ संवेदनशील

काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा  राखिएको छ। सुरक्षा दृष्टिकोणले एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो।

जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ।

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ। मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो। जिल्लाका १० स्थानीय तहमा रहेको मतदानस्थलको अनुगमन गरिएको छ।

१० स्थानीय तह रहेको बैतडीमा दुई सय १० मतदान केन्द्र छन्। जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिएका छन्।

कात्तिक १३, २०७९ आइतबार ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।