कांग्रेस घोषणापत्र: सातै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने, पूर्ण स्वायत्त चलचित्र आयोग बनाइने

काठमाडौं: नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सात वटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने बताएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले विभिन्न जातजाति, समुदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत एवं इतिहास झल्कने गरी कम्तीमा प्रदेशस्तरीय एक सङ्ग्रहालय स्थापना गरिने जनाएको हो।
शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका थिए। घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने समेत उल्लेख छ। यस्तै सातै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक प्रदर्शनका लागि प्रेक्षालयको स्थापना गरिने बाचा समेत पार्टीले गरेको छ।
राज्यको लगानी वृद्धि गर्दै स्रष्टा सर्जकको वृत्ति विकास र क्षमता अभिवृद्धि गरिने, स्रष्टा, सर्जक र कलाकारलाई सम्मान, पुरस्कार र संरक्षणको व्यवस्था गरिने पनि उल्लेख छ।
यसका साथै नेपाली चलचित्र र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत राखी नियमनकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको स्वरूपमा रूपान्तरण गरी पूर्ण स्वायत्त बनाइने समेत उल्लेख छ।
कात्तिक १३, २०७९ आइतबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।