विश्वकपमा आज तीन खेल हुँदै, पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले खेल जित्नुपर्ने

विश्वकपमा आज तीन खेल हुँदै, पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले खेल जित्नुपर्ने

काठमाडौं: जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज तीन खेल हुँदैछन्। समूह २ अन्तर्गतका ६ टोली एकापसमा आज भिड्दैछन्।

पहिलो खेलमा आज बङ्गलादेश र जिम्बावे भिड्दैछन्। केही दिनअघि मात्र पाकिस्तानलाई हराएर सनसनी मच्चाएको जिम्बावेको टोली आज उच्च मनोबलसहित मैदानमा उत्रनेछ।

यस्तै बङ्गलादेशी टोलीले दक्षिण अफ्रिकाविरुद्ध हार व्यहोरेको थियो भने नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको थियो।

यो खेल नेपाली समयअनुसार बिहान ८:४५ बाट सुरु हुनेछ।

यस्तै आजको दोस्रो खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ। नेपाली समयअनुसार दिउँसो १२:४५ मा खेल हुनेछ।

नेदरल्याण्ड्सले आफ्नो दुईमध्ये दुई खेल नै हारेको छ। केही दिनअघि भारतविरुद्धको खेलमा फराकिलो पराजय व्यहोरेको नेदरल्याण्ड्सले आज पाकिस्तानलाई दबाबमा भएकाले त्यसैको सदुपयोग गर्नेछ।

यता, प्रतियोगिताको विजेताकै दावेदार मानिएको पाकिस्तानले आफ्नो पहिलो दुईमध्ये दुई खेल नै हार्यो। त्यसैले आज पाकिस्तान पूर्णतया दबाबमा हुनेछ। बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ लाइनअप बिग्रिएको पाकिस्तानको लागि आजको खेल 'गर या मर'कै हो।

आजको खेल हारेमा ऊ प्रतियोगिताबाट बाहिरिनेछ। बाँकी खेल औपचारिकताको लागि मात्र हुनेछ। यस्तै आज पाकिस्तानले जिते मात्र पनि अपुग हुनेछ। सेमिफाइनल पुग्ने दौडमा सामेल भइराख्न पनि पाकिस्तानले आज भारतको जितको कामना गर्नुपर्नेछ। आज भारतले हारेमा पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिनेछ।

भारत र दक्षिण अफ्रिकाबीचको खेल आजै छ। नेपाली समयअनुसार अपराह्न ४:४५ बाट खेल सुरु हुनेछ।

भारत हाल दुईमध्ये दुई खेल नै जितेर अंकतालिकाको शीर्ष स्थानमा छ। यता दक्षिण अफ्रिकाको लागि भने वर्षा बाधक बन्यो। दुईमध्ये एक जित र एक नतिजाविहीन भएपछि दक्षिण अफ्रिका दोस्रो स्थानमा बस्न बाध्य छ।

आजको दुवै टोलीका लागि महत्त्वपूर्ण छ। सेमिफाइनलको रेसका लागि दुवै टोली आज खेल जित्न चाहन्छन्। विशेषतः दक्षिण अफ्रिकाले यसअघि एक अंक बाँड्नुपरेकाले आज दुई अंक प्राप्त गर्न चाहन्छ।

कात्तिक १३, २०७९ आइतबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।