आज छठ व्रतः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

आज छठ व्रतः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

काठमाडौं: मिथिला क्षेत्रसहित देशका विभिन्न स्थानमा अहिले छठ पर्वको रौनक छ। आज छठको तेस्रो र मुख्य दिन हो।

आज वर्तालुहरू निराहार बसी साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइनेछ। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ।

यसअघि कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ सम्पन्न भइसकेका छन्। त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ।

वर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवतरूपमा समापन हुनेछ। व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ। 

कात्तिक १३, २०७९ आइतबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।