बालबालिकाले भोट मागेको भिडियो राखेकोमा सूर्य थापालाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण पत्र

बालबालिकाले भोट मागेको भिडियो राखेकोमा सूर्य थापालाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण पत्र

काठमाडौँ : बालबालिकाले आफ्नो पक्षमा भोट मागेको टिकटक भिडियो ट्विट गर्दै धन्यवाद दिएका प्युठानमा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

आयोगले निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको देखिएको आयोगको ई बुलेटिनमा उल्लेख छ।

निर्वाचन आचारसंहिताको विपरीत हुने गरी निर्वाचन प्रचारप्रसार कार्य गरेको देखिएको भन्दै आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईँले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गरेको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा किन जानाजान आचारसंहिताको उल्लङ्घन हुने काम गरेको र निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै आचारसंहिताको उल्लङ्घनमा किन कारबाही नगर्ने भनेर सोधिएको छ।

कात्तिक १२, २०७९ शनिबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।