उम्मेदवारी खारेज सदर गर्ने न्यायाधीश बालुवाटारका जग्गा फिर्ता गर्ने व्यक्ति हुन् : राजु गुरुङ

बुटवल : एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले आफ्नो उम्मेदवारी खारेज सेटिङमा भएको बताएका छन्।
निर्वाचन आयोगले उम्मेदवारी उपर दावी विरोधको समयसम्म कुनै पनि उजुरी आफूविरुद्ध नआएको बताए पनि अन्तिम समयमा फ्याक्स मार्फत उजुरी आएको र त्यो सबै सेटिङको भएको दावी गरे।
शनिबार बुटवलमा रुपन्देही क्षेत्र नं. २ को गठबन्धनका उम्मेदवारहरू सहितको पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतको फैसललाई आत्मसाथ गरेपनि सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालय जस्तो भएको आरोप समेत लगाए।
उनले एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेलले आफू हार्ने निश्चित भएपछि यो रणनिती अपनाएको बताए।
सर्वोच्च अदालतमा कुमार रेग्मीको इजलासबाट आफ्नो उम्मेदवारी खारेजीको निर्णय सदर भएको भन्दै उनले रेग्मी बालुवाटार जग्गा प्रकरणमा जोडिएर जग्गा फिर्ता गराएका व्यक्ति भएकोसमेत उनले बताए।
उम्मेदवारी खारेजीपछि पहिलो पटक सार्वजनिक मञ्चमा बोलेका गुरुङले पौडेलको एकाधिकार तोड्नकै लागि भए पनि गठबन्धन बीचमा कुनै प्रकारको दोष नराखी निर्वाचनमा होमिन सवैलाई आग्रह गरे।
आफूजस्तै मुलुकभर १५२ नाम उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरू उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे।
गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही–२ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।
कात्तिक १२, २०७९ शनिबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।