कांग्रेस घोषणा पत्रमा १२ लाख नयाँ रोजगारीदेखि विद्युतीय सवारी ५० प्रतिशत पूर्याउनेसम्मका दाबी

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि केन्द्र र प्रदेशहरूमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन पाँच दलीय गठबन्धन गरेको नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक गर्दै पाँच वर्षमा न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ।
कोरोना सङ्क्रमणका कारण आर्थिक अवस्था बलियो भएका राष्ट्रको आर्थिक वृद्धिमा नकारात्मक असर परिरहेको बेला कांग्रेसले घोषणा पत्र मार्फत यस्तो दाबी गरेको हो।
उसले बढ्दो बेरोजगारी घटाउन यसबिचमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने दाबी समेत गरेको छ। घोषणा पत्रमा उसले सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा हरेक वर्ष साढे २ लाखको दरले नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको छ जुन सहज देखिँदैन।
विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत
कांग्रेसले घोषणा पत्रमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्याउने दाबी समेत गरेको छ। जबकि उसको नेतृत्वको सरकारले ल्याएको बजेट भने विद्युतीय सवारी मैत्री हैन।
उसले आगामी २३ वर्षमा सहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने कठिन लक्ष्य समेत उल्लेख गरेको छ।
जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरू देखिन थालेको भन्दै उसले घोषणा पत्रमा कार्बन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकूलनका योजनाहरू बनाउने दाबी गरेको छ।
नेपाललाई जलवायु उत्थानशील राष्ट्रको रूपमा चिनाउँदै अन्तर्राष्ट्रिय जलवायु वित्त अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अधिकतम पहल गर्ने उसको दाबी छ।
घोषणा पत्रमा इन्धनका लागि दाउरा, गुइँठा, भुस आदिको खपत गर्ने जनसङ्ख्या ३५ प्रतिशतमा झार्ने, वन क्षेत्रको संरक्षणका लागि ढाकेको क्षेत्र ४७ प्रतिशत पुर्याउने, ४ हजार जति सिमसार, ताल र पोखरीको विशेष संरक्षण गरिने उल्लेख गरेको छ।
वातावरणीय प्रभाव तथा विपद् जोखिम अध्ययन गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्ने, जोखिमयुक्त बस्तीहरूको अध्ययन गरी सुरक्षित ठाउँमा स्थानान्तरण, एकीकृत नमुना बस्ती निर्माण, सहरी क्षेत्रमा वृद्ध वृद्धा र बालबालिकालाई केन्द्रमा राखेर हरित खुला पार्कको निर्माण गर्ने घोषणा पत्रमा उल्लेख छ।
घोषणा पत्र पार्टी सभापति शेरबहादुर देउवाले शनिवार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरेका थिए।
कात्तिक १२, २०७९ शनिबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।