सरकारी भत्ता पाउने पदमा रहेको भन्दै डा तोसिमाको उम्मेदवारी खारेज

सरकारी भत्ता पाउने पदमा रहेको भन्दै डा तोसिमाको उम्मेदवारी खारेज

काठमाडौँ : ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा तोसिमा कार्की सरकारी पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ।

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य रहेकी उनले मासिक तलब नपाए पनि बैठक र अनुगमन भत्ता पाउने र उनी सदस्य भए यता एक लाख ३६ हजार पाँच सय रुपैयाँ आर्थिक लाभ लिएको देखिएको भन्दै आयोगको शनिवार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

आयोगले सरकारी अनुदान प्राप्त संस्थाको सदस्य रहेको, बैठक भत्ता र अनुगमन भत्ता लिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिभाषाभित्र नेपाल मेडिकल काउन्सिलको सदस्य सार्वजनिक पदमा पर्ने कारण देखाउँदै उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

यसअगाडि आयोगले सरकारी लाभको  पदमा रहेको भन्दै कमल भुसाल (डा निकोलस) को उम्मेदवारी खारेज गरेको थियो। उनी रुपन्देही-२ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। सरकारी छात्रबृत्तीमा अध्ययनरत उनी आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन्।

कात्तिक १२, २०७९ शनिबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।