कालीकोट बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो, तीन जना घाइते

काठमाडौं: कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा आज बिहान भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। आज बिहान ८ बजेतिर बालबालिकाहरू खेल्न जाने क्रममा उनीहरूले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विस्फोट भएको थियो।
मृत्यु हुनेमा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकै सरस्वती राना रहेका छन्। थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए।
हालसम्म कुन बम विस्फोट भएको भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको बताइएको छ।
यस्तै घटनामा परी अन्य तीन जना घाइते छन्। घाइतेमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा र ३ वर्षीया सपना थापा रहेका छन्।
उनीहरूको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ।
कात्तिक १२, २०७९ शनिबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।