कांग्रेस घोषणा पत्र एमालेप्रति आक्रामक, आफ्नै दलभित्रको द्वन्द्व देखाएर संसद् विघटन नगर्ने वाचा

कांग्रेस घोषणा पत्र एमालेप्रति आक्रामक, आफ्नै दलभित्रको द्वन्द्व देखाएर संसद् विघटन नगर्ने वाचा

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित गर्दै नेपाली कांग्रेसले जारी गरेको घोषणा पत्रमा एमालेलाई लक्षित गर्दै 'दलहरूको आन्तरिक विवाद र फरक दलहरू बिचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने' उल्लेख गरेको छ।

नेकपाहुँदा पार्टीभित्रको द्धन्द्धलाई देखाउँदै एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गराएका थिए। दुवै पटक सर्वोच्च अदालतले विघटित प्रतिनिधी सभा ब्युँताइदिएको थियो।

एमाले नेतृत्वको सोही राजनीतिक निर्णयमाथि प्रहार गर्दै उसले आफ्नै दलभित्रको विवाद र द्वन्द्व वा फरक दलबिचको द्वन्द्व र विवादका कारण प्रतिनिधि सभा विघटन नगर्ने उल्लेख गरेको हो।

नेकपामा देखिएको आन्तरिक द्वन्द्वका कारण ओलीले २०७७ पुस ५ मा र २०७८ को जेठ ७ मा प्रतिनिधिसभा विघटन गराएका थिए।

कांग्रेसमाथि वित्तीय अनुशासनहीनता, व्यक्तिगत लाभ केन्द्रित निर्णयमा विशेष चासो राख्ने गरेको, प्राकृतिक स्रोतको दोहनमा विशेष रुचि राखेको आरोप लाग्दै आएको छ। घोषणा पत्रमा कांग्रेस नेतृत्वका सरकारमाथि लाग्दै आएको आरोपहरूका गतिविधिहरू नदोहोर्याउने दाबी गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा सार्वजनिक गरेको घोषणा पत्रमा सरकारी सम्पत्तिको दुरुपयोग र प्राकृतिक स्रोत साधनको दोहन नगर्ने, कानुनको सीमा बाहिर गएर आर्थिक प्रलोभन या व्यक्तिगत प्रभावमा परेर कुनै निर्णय नगर्ने समेत उल्लेख छ।

यसैगरी, अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवामा निर्णय नगर्ने, कानुन, आर्थिक र वित्तीय उत्तरदायित्वसँगै अनुशासनको उलङ्घन नगर्ने, स्वार्थले द्वन्द्व उत्पन्न हुने निर्णय प्रक्रियामा संलग्न नहुने समेत घोषणा पत्रमा दाबी गरिएको छ।

कात्तिक १२, २०७९ शनिबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।