एमाले उम्मेदवार सूर्य थापालाई कारबाही गर्न आयोगले प्युठान प्रहरीलाई पत्र पठाउँला ?

काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे निर्वाचन आयोगले जारी गरेको आचार संहितामा प्रस्टै प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ।
तर एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका सूर्य थापाले बालबालिकाले आफ्नो प्रचारमा बनाएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै धन्यवाद दिएका छन्।
थापा एमालेबाट प्युठानबाट उम्मेदवार बनेका छन्। उनले आफ्नो निर्वाचन प्रचारका लागि बनाएको गीतमा २ बालबालिका नाच्दै टिकटकमा भिडियो हालेका छन्।
टिकटकको सोही भिडियो उनले ट्विट गर्दै लेखेका छन् 'एलायन्सबाबुका दाजु बहिनीलाई धन्यवाद छ।'
पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता उलङ्घन भएको भन्दै उम्मेदवारहरूलाई दैनिक रूपमा स्पष्टीकरण सोधिरहेको छ। उसले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई त स्पष्टीकरण पत्रसँगै जवाफ आउनु अगाडि नै स्थानीय प्रहरीलाई कारबाही गर्न पत्र पठाएपछि आलोचित भएको थियो।
पछिल्लो समय निर्वाचनमा पुराना उम्मेदवारलाई दोहोर्याएर नजिताउन सामाजिक सञ्जालमा सुरु भएको #NONOTAGAIN अभियान विरुद्ध चालेको कदमपछि आयोगको कामकारबाही आलोचित भइरहेको छ। आयोगमाथि राजनीतिक आस्थाको आधारमा स्पष्टीकरण सोध्ने, पाँच दलीय गठबन्धनका उम्मेदवारप्रति आक्रामक हुने तर एमालेप्रति सफ्ट हुने गरेको आरोप लाग्दै आएको छ।
अन्य दलको उम्मेदवारलाई पार्टीको नाम सहित स्पष्टीकरण सोधेको ई बुलेटिन निकाल्ने आयोगले एमालेका उम्मेदवारलाई स्पष्टीकरण सोध्दा पार्टीको नाम उल्लेख नगरी उम्मेदवारको नाम मात्र उल्लेख गर्ने गरेकाले यसमा समेत विभेद गरेको भन्दै सञ्जालमा आलोचना भएको थियो।
कात्तिक १२, २०७९ शनिबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।