भन्सार प्रहरीको ज्यादती: "बोहनी गराइदिनुस्" भन्दै रकम असुल्दै

भन्सार प्रहरीको ज्यादती:
साङ्केतिक तस्बिर

काठमाडौं: भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेको पीडितहरूले आरोप लगाएका छन्। जाँचका नाउँमा प्रहरी युनिटअगाडि नै बाटो जाम गरी ठाउँठाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरूको गुनासो पोखेका छन्।

जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरूले अहिले दैनिक जाँच गर्ने गरेको तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरूले आरोप लगाएका छन्। भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बीआर ०५–एई–८५५९ नम्बरको मोटरसाइकलधनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत बिहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोधकुमार सरार्फले बताए।

उनले उक्त कागज किन च्यातेको भनी सोध्दा उल्टो आफूलाई पनि थुनामा राख्ने जवाफ पाएको बताए। यस्तै जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको पनि उनले बताए।

आफूले कुनै कागज नच्यातेको तर मोटरसाइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिए।

कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वीचम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनासो थियो। आफूले प्रहरीले बोलेअनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उनको भनाइ थियो।

यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भए पनि "बिहानको यात्राका लागि बोहनी गराइदिनुस्" भनी अनुरोध आएपछि ३० रुपैयाँ दिनुपरेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताए।

कात्तिक १२, २०७९ शनिबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।