‘हप्तामा चार दिन काम, तीन दिन छुट्टी’

एजेन्सी : बेलायतकाे एक मार्केटिङ्ग कम्पनी ‘फ्यूल’ले हप्तामा चार दिन मात्र काम गर्न सुरु गरेको छ।
अक्टोबारबाट सुरु भएको हप्तामा चार दिन काम र तीन दिन छुट्टी दिने क्रम अहिले परीक्षणको रूपमा सुरु गरेको र २०२३ को मार्चसम्म चल्ने कम्पनीले जनाएको छ।
हप्तामा चार दिन मात्र काम गर्दा पनि कर्मचारीको तलबभत्तामा भने कुनै फेरबदल गरिएको छैन। यद्यपि काम गर्नुपर्ने समय भने बढाइएको छ। कर्मचारीले अब विहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपर्नेछ।
यसरी काम लगाउँदा पनि पहिला भन्दा हप्तामा तीन घण्टा कम काम लगाइएको कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर मार्टिन किंगले बताएका छन्। यसरी काम गर्दा कर्मचारीको मनोबल बढेको उनको दाबी छ।
यसअघि बेलायतमा केही कम्पनीले पनि हप्तामा चार दिन काम गर्ने प्रक्रिया परीक्षण गरिसकेका थिए भने यसैवर्षको सुरुवातमा युएईमा पनि साढे चार दिन कामको सिफ्टको निर्णय गरिएको थियो।
यसका अलावा न्यूजिल्याण्ड र अमेरिकामा पनि केही कम्पनीले हप्तामा चार दिन काम गर्ने प्रणालीको सुरुवात गरिसकेका थिए। यसमा पनि केही कम्पनीमा अहिले पनि जारी छ भने कतिपयले बन्द गरिसकेका छन्।
कात्तिक ११, २०७९ शुक्रबार २१:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।