महोत्तरीको पररियाको झडपबारे छानबिन गर्न गृहले बनायो समिति

महोत्तरीको पररियाको झडपबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं : महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा कलश यात्राको क्रममा दुई समुदायबिच भएको झडपबारे गृह मन्त्रालयले छानबिन गर्ने भएको छ।

शुक्रवार दुवै समुदायका प्रतिनिधिबिच आठ बुँदे सहमति भएको थियो। शुक्रवारै मन्त्रीस्तरीय निर्णयबाट गृहले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

गृहको विज्ञप्ति अनुसार समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य छन्।

छठको कलश यात्रा निकाल्नेक्रममा भएको झडपबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउन मन्त्रालयले समितिलाई एक हप्ताको समय दिएको छ।

कात्तिक १० मा भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राट्को नामबाट छठ पर्वको अवसरमा निकालिएको कलश र झन्डा यात्रामा अज्ञात व्यक्तिहरूले ढुङ्गाले हानेपछि दुई समूहबिच झडप भएको थियो।

झडपमा १० जना बढी घाइते भएका थिए। स्थानीय प्रशासनले बिहीबार ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो।

कात्तिक ११, २०७९ शुक्रबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।