जनमोर्चाले रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने

काठमाडौं : उम्मेदवारी खारेजीसँगै अलमलमा परेको पाँच दलीय गठबन्धनले रुपन्देही-२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गर्ने निर्णय गर्यो। निर्णयमा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीको समेत हस्ताक्षर थियो।
तर उनै केसीले आफैँले गरेको हस्ताक्षर भुलवश भएको भन्दै सो निर्वाचन क्षेत्रमा थापालाई नभई जनमोर्चाले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई समर्थन गर्ने दाबी गरेका छन्।
रुपन्देही-२ मा गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङ चेक बाउन्सको कालो सूचीमा परेकाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो।
गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेजपछि अलमलमा परेको गठबन्धनले उम्मेदवार खोज्दै जाँदा जनमुक्ति पार्टीका उम्मेदवार थापालाई रुपन्देही-२ मा समर्थन गर्ने र अन्यत्र सो पार्टीले गठबन्धनलाई समर्थन गर्ने सहमतिमा पुगेर गत बुधवार पाँच दलको तर्फबाट विज्ञप्ति जारी भएको थियो।
केसीले शुक्रवार जारी गरेको विज्ञप्तिमा बुधवार भूलवश विज्ञप्तिमा हस्ताक्षर हुन पुगेको दाबी गर्दै पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको उल्लेख गरेका छन्।
सो क्षेत्रमा एमालेको तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्। गठबन्धनभित्रको खिचातानीले उनलाई निर्वाचनमा प्रतिस्पर्धा थप सहज बन्दै जाने देखिन्छ।
कात्तिक ११, २०७९ शुक्रबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।