राप्रपा अध्यक्ष लिङदेनले नजिते देशद्रोहीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी

राप्रपा अध्यक्ष लिङदेनले नजिते देशद्रोहीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी

झापा : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले नजिते देशद्रोहीले जित्ने दाबी गरेका छन्।

एमाले र राप्रपाले भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले समर्थन गरेको उम्मेदवारले नजिते एमालेको बेइज्जत हुने दाबी गरे।

संसदीय निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गरेको छ। झापा ३ मा लिङदेनलाई एमालेको समर्थन छ। सो क्षेत्रमा गठबन्धनबाट कृष्ण सिटौला उम्मेदवार छन्।

ओलीले आफ्ना कार्यकर्तालाई हलोमा भोट हाल्न निर्देशन दिँदै भने 'राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेले 'आयुष्मान् भव:' भनेको हो। एमालेले आयुष्मान् भव:, विजयी भव: भन्दा पनि बाँचेन भने के काम! एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनले जित्नुपर्छ,'

उनले मङ्सिर ४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने अनि राप्रपा र  जनता समाजवादी पार्टी(जसपा)सँग मिलेर संयुक्त सरकार गठन गर्ने दाबी गरे। 

उनले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे।

कार्यक्रममा सहभागी राप्रपाका अध्यक्ष लिङदेनले पनि राप्रपालाई निर्वाचनमा जिताउन आग्रह गरेका थिए। दुवै पार्टीबिच तालमेल भएको स्थानमा एक अर्काको उम्मेदवारलाई भोट हालेर जिताउन उनले आग्रह गरेका थिए। झापामा राप्रपाले पनि ओलीलाई समर्थन गरेको छ।

कात्तिक ११, २०७९ शुक्रबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।