कांग्रेस महामन्त्री गगन थापालाई आयाेगले फेरि साेध्याे स्पष्टीकरण

काठमाडाैं : निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ।
आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनि स्पष्टीकरण सोधेकाेमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण सोधेकाे जनाएकाे छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ।
स्पष्टीकरण पत्रमा भनिएको छ- 'यदि डेंगी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भईसकेको अवस्थामा उक्त कार्य तपाईं आफैले गर्न पाउने कानूनी व्यवस्था छैन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनि वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनि आयोग विश्वस्त हुन सक्दैन।'
काठमाडाैं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको थापाले पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिएर मतदातालाई प्रभावित गर्ने कार्य गरेकाे भन्दै २४ घण्टाभित्र आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन भनिएको छ।
स्पष्टीकरण पत्रमा थप भनिएको छ, 'निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा विपद् तथा महामारी आईपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईं किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्न उद्यत हुनुभएको हो? आयोगले यसअघि नै दल तथा सम्बद्ध पक्षलाई ६० बुँदे समेतका निर्देशन दिइसकेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो?'
कात्तिक ११, २०७९ शुक्रबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।