टी-ट्वेन्टी विश्वकपमा वर्षा बाधक, अस्ट्रेलिया र इंग्ल्याण्डले अंक बाँडे

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा घरेलु टोली र इंग्ल्याण्डबीचको खेल रद्द भएको छ।
शुक्रबार मेलबर्नमा हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको हो। पानी नरोकिएपछि एक बल पनि नखेली खेल रद्द गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ।
खेल रद्द भएसँगै टिकट काटेर हेर्न आएका समर्थक र टेलिभिजनमा खेल कुरेर बसेका दर्शकसमेत निराश बनेका छन्। खेलेर अंक बटुल्नुपर्ने टोली पनि आफ्नो खेल देखाउन नपाउँदा उत्साही छैनन्।
खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। तीन अंकसहित इंग्ल्याण्ड दोस्रो स्थानमा रहँदा समान तीन अंक रहेको अस्ट्रेलिया चौथो स्थानमा छ।
अंकतालिकाको शीर्ष स्थानमा भएको न्यूजिल्याण्डसँग पनि तीन अंक नै छ।
यसअघि हुने भनिएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो।
कात्तिक ११, २०७९ शुक्रबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।