ओनसरी हार्न सक्ने डरले काठमाडौँ-३ मा माओवादी ब्याक भयो, १० मा सहमति भएन

ओनसरी हार्न सक्ने डरले काठमाडौँ-३ मा माओवादी ब्याक भयो, १० मा सहमति भएन

काठमाडौं : काठमाडौँ निर्वाचन क्षेत्र ३ को प्रतिनिधि सभामा उम्मेदवारी कायमै गर्दा २ नम्बरमा उठेकी ओनसरी घर्तीको मतमा प्रभाव पर्ने भएपछि गठबन्धनमा तीन नम्बरका माओवादी उम्मेदवारको उम्मेदवार निष्क्रिय गराउने निर्णय भएको छ।

गठबन्धनमा कांग्रेसको भागमा परे पनि क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर १० मा माओवादीबाट समेत उम्मेदवारी परेको थियो। शुक्रवार बसेको पाँच दलीय गठबन्धनमा काठमाडौँ-३ कांग्रेसको उम्मेदवारलाई छाड्ने सहमति भयो तर १० बारे सहमति हुन सकेन।

बैठकले जारी गरेको सुचीमा काठमाडौं–३ मा कांग्रेस उम्मेदवार सन्तोष चालिसेलाई आधिकारिक उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर १० मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

काठमाडौँ-३ मा माओवादी केन्द्रबाट बद्री बजगाईँ पनि उम्मेदवार बनेका थिए। उनको उम्मेदवारी कायमै रहँदा क्षेत्र नम्बर २ पाएको माओवादीलाई कांग्रेस समर्थकले मत नदिन सक्ने जोखिम देखेपछि गठबन्धन दलको बैठकमा उनको उम्मेदवारी निष्क्रिय बनाउने जिम्मा माओवादीले लियो।

तर काठमाडौँ १० बारे भने माओवादी सहमतिमा आउन चाहेन। कांग्रेसबाट १० मा राजेन्द्र केसी र माओवादीबाट अञ्जना विशंखे उम्मेदवार छन्। माओवादी पनि उम्मेदवार कायम गर्ने पक्षमा रहेपछि अन्तमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भयो।

तर प्रदेशमा भने सहमति हुन सकेन। काठमाडौं–३ को ‘ख’मा कांग्रेसका तर्फबाट विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाँल उम्मेदवार छन्। सत्ता गठबन्धनले दुबैलाई प्रतिस्पर्धा गर्न दिने निर्णय गर्यो।

काठमाडौं १० अन्तर्गतको प्रदेशसभा ‘क’मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनबिच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ।

कात्तिक ११, २०७९ शुक्रबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।