प्रतिनिधि सभाका २ र प्रदेशका १३ सिटमा गठबन्धनबिचै प्रतिस्पर्धा, आठ प्रदेशमा अझैँ कुरा मिलेन

काठमाडौँ : पाँच दलीय गठबन्धनविच प्रतिनिधि सभा र प्रदेश सभाका १३ स्थानमा सहमति गर्न नसक्दा सहकार्य नहुने भएको छ। आठ क्षेत्रमा कुन दलको उम्मेदवार भन्ने अझैँ टुङ्गो लागेको छैन।
सहमति हुन नसकेपछि गठबन्धनका दलकै उम्मेदवार परेको प्रतिनिधि सभाको २ स्थान र प्रदेश सभाको ११ स्थानमा अन्तमा मित्रवत् प्रतिस्पर्धा गर्न सहमति भयो।
गठबन्धनले जारी गरेको सूची अनुसार प्रतिनिधि सभामध्ये काठमाडौँ १० र सर्लाही २ मा गठबन्धन दलका उम्मेदवारबिचै प्रतिस्पर्धा हुने भएको छ। काठमाडौँ १० मा कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अञ्जना विशंखेविच प्रतिस्पर्धा हुने भएको छ।
सर्लाही–२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका महेन्द्रराय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोबिच प्रतिस्पर्धा हुने भएको छ। यसलाई गठबन्धनले मित्रवत् प्रतिस्पर्धा भनेका छन्।
प्रदेशतिर सर्लाही–१ 'क' मा माओवादी केन्द्रका रामचन्द्रसिंह कुशवाह र लोसपाका उपेन्द्र महतो, बारा–१ को 'ख' मा कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ।
पर्सा–३ 'ख' मा कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरिबिच प्रतिस्पर्धा हुने भएको छ। काठमाडौँ–३ 'ख' मा पनि सहमति हुन सकेन। सो क्षेत्रमा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालविच प्रतिस्पर्धा हुने भएको छ।
काठमाडौँ–५ को 'ख' मा कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ, ६ 'ख' मा कांग्रेसका विष्णुभक्त तिम्सिना र माओवादी केन्द्रका प्रकाश फूँयाल, काठमाडौँ १० 'क' मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनबिच प्रतिस्पर्धा हुने भएको छ।
यसै गरी, बाँके–२ को 'क' मा कांग्रेसका राजकुमार बर्मा र एकीकृत समाजवादीका समसुद्दिन सिद्धिकी, २ 'ख' मा कांग्रेसका सुरेन्द्र हमाल र माओवादी केन्द्रका अक्कलबहादुर बम, कञ्चनपुर–२ को 'ख' मा कांग्रेसका बहादुर सिंह थापा र एकीकृत समाजवादीका लालबहादुर खड्काकै उम्मेदवारी कायम रह्यो।
कञ्चनपुर–३ 'क' मा एकीकृत समाजवादीका प्रकाश रावल र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टकै उम्मेदवारी कायम राखेर मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ।
यी ठाउँमा भएन सहमति
सिराहा ३ को ‘ख’मा कांग्रेसका सञ्जय प्रकाश यादव र एकीकृत समाजवादीका प्रमोद यादव उम्मेदवार छन्। यो क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने या एकल उम्मेदवार कायम गर्ने सहमति भएन।
महोत्तरी २ ‘क’मा एकीकृत समाजवादीका मञ्जु यादव र लोकतान्त्रिक समाजवादीका जयनुल राइनको उम्मेदवारीबारे पनि निर्णय हुन सकेन।
स्याङ्जा २ को ‘क’ मा कांग्रेसबाट भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र भट्टराईको उम्मेदवारी परेको छ। यसमा पनि मित्रवत् प्रतिस्पर्धा वा कसैको उम्मेदवारी निष्क्रिय गराउने केही निर्णय भएन।
कपिलवस्तु १ ‘ख’, हुम्ला ‘क’, सुर्खेत २ को ‘क’ र ‘ख' बाजुराको ‘क’, बारे समेत गठबन्धनमा सहमति नै हुन सकेन।
कात्तिक ११, २०७९ शुक्रबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।