कैलालीमा स्कुटर पल्टिँदा दुई र डडेल्धुरामा जीप खस्दा तीन जना घाइते

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिका- ३ भाटभटेनी नजिकै हिजो साँझ स्कुटर पल्टिँदा दुई जना घाइते भएका छन्। अत्तरीयाबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११प ११६७ नम्बरको स्कुटर हिजो साँझ पौने ७ बजे पल्टिएको थियो।
दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका- ४ उत्तर बेहडीका ३१ वर्षीय योगेन्द्र चन्द र पछाडि सवार कैलालीकै गोदावरी नगरपालिका- १ का २५ वर्षीय दमन चन्द घाइते भएका छन्।
धनगढीमै रहेको मायामेट्रो अस्पतालमा दुवैको उपचार भइरहेको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ।
यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका- ५ भकुडामा आज बिहानै जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बिप्याकटोलबाट चामातर्फ जाँदै गरेको से१ज २३४ नम्बरको जीप आज बिहान साढे ४ बजे ब्रेकफेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
जीप चालक नवदुर्गा- ५ चामाका २५ वर्षीय चक्र विष्ट, २२ वर्षीय दिपेन्द्र विष्ट र १४ वर्षीय किशोर विष्ट घाइते भएको र उपचारको लागि डडेल्धुरा जिल्ला अस्पताल पठाएको अस्थायी प्रहरी पोष्ट ठाँटाबजारले जनाएको छ।
कात्तिक ११, २०७९ शुक्रबार ०९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।