अन्ततः ४४ बिलियन डलरमा ट्वीटर किने एलन मस्कले, सीईओ र सीएफओलाई निष्काशन

एजेन्सी: विश्वकै धनाढ्य एलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्वीटर किनेका छन्। मस्कले ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर आफ्नो नाम बनाएका हुन्।
योसँगै बीचमै ट्वीटर नकिन्ने भन्दै भाग्न खोजेका मस्क र उनलाई कानूनी बन्धनमा राख्न अदालत पुगेको कम्पनीबीचको लडाइँ पनि अब सकिएको छ।
तर मस्कले ट्वीटर लिनासाथ यसका सीईओ र सीएफओ दुवैलाई उनले निकाला गरेका छन्। सीईओ पराग अग्रवाल र सीएफओ नेड सेगललाई कम्पनीको हेडक्वार्टरबाटै बाहिर निकालिदिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। यस्तै लिगल अफेयर पोलिसी हेड विजय गाडेलाई पनि निष्काशन गरिएको छ।
मस्कले गत अप्रिल १३ मा ट्वीटर किन्ने भन्दै ट्वीटरमे उद्घोष गरेका थिए। तर उनले पछि भइसकेको सम्झौता पनि 'होल्ड'मा राखे। र ८ जुलाईमा उनले सम्झौता तोडे।
यसैको विरुद्ध ट्वीटर अदालत गएको थियो। अदालतले २८ अक्टुबरभित्र सम्झौता पालना गर्न आदेश दिएको थियो। त्यसको एक दिनअघि नै मस्कले ट्वीटरसँगको सम्झौता पूरा गरेका हुन्।
ट्वीटर किनेसँगै मस्कले आफ्नो उद्देश्य पैसा कमाउनु नरहेको स्पष्ट पारेका छन्।
मस्कलाई ट्वीटर सुम्पिएपछि यसका को-फाउण्डर बिज स्टोनले अग्रवाल, सेगलसहित गाडेलाई उनीहरूको ठूलो योगदानको लागि धन्यवाद व्यक्त गरेका छन्।
कात्तिक ११, २०७९ शुक्रबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।