डा. केसीले भने- 'आयोगका पदाधिकारीले भ्रष्ट सिन्डिकेटका लागि गुलामी गरे'

काठमाडाैं : चिकित्सा शिक्षा अभियन्ता डा. गाेविन्द केसीले निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरूपयोग गरी गुलामी गरेको आराेप लगाएका छन्।
बिहीबार एक विज्ञप्ति निकालेर डा. केसीले वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षाैंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरूपयोग गरी गुलामी गरेको आराेप लगाए।
नागरिक तहबाट स्वस्फूर्त रूपमा सामाजिक सञ्जालमा चलाएकाे 'नो नट अगेन' अभियानलाई पूर्णतः निषेध गर्ने आयाेगकाे कात्तिक ८ गतेकाे विज्ञप्तिप्रति गम्भीर खेद प्रकट गर्दै उनले पदाधिकारीबाट जनविरोधी काम गरेकाे दाबी गरे।
उनले आयोगले जारी गरेको विज्ञप्तिमा प्रकट भएको भाष्य तथा त्यसमा अन्तरनिहीत मनसायलाई दृष्टिगत गर्दा आयोगका पदाधिकारीहरूले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि आम नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउने तर्फ उद्यत भएको पुष्टि हुने उल्लेख गरे।
डा. केसीले आत्मालोचनासहित विज्ञप्ति फिर्ता लिन आयोगलाई आग्रह गर्दै धम्कीयुक्त चेतावनीको विज्ञप्तिको अहिंसात्मक अवज्ञा गर्ने बताए।
कात्तिक १०, २०७९ बिहीबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।