'नो नट अगेन' अभियानलाई धम्क्याउँदा कांग्रेस र एमाले नेतालै नै गरे निर्वाचन आयाेगकाे आलाेचना

काठमाडौं : प्रमुख दलको नेतृत्वमा रहेका नेतालाई यस पटकको निर्वाचनमा नदोहोर्याउन सुरु भएकाे अभियानलाई सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिएपछि निर्वाचन आयोगकाे आलोचना भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाललाई यस पटक सांसद नबनाउन नो नट अगेन अभियान चलेको थियो।
आयोगले मंगलबार विज्ञप्ति निकालेर भ्रम फैलाएको भन्दै यस अभियानको नाममा खुलेको तीन वटा फेसबुज पेज बन्द गर्न निर्देशन दिएको थियो।
आफूलाई मन नपर्ने नेतालाई नजिताउँ भन्नु नागरिक अधिकार भएको र आयोगले कारबाहीको धम्की दिनु संविधान विपरीतको काम भएको भन्दै सामाजिक सन्जालमा तीव्र आलोचना भएको छ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, एमाले नेता भीम रावल, नेता रमेशनाथ पाण्डे, वरिष्ट पत्रकार ध्रुवहरी अधिकारी लगायतकाले आयोगको सो निर्देशनको आलोचना गरेका छन्।
रावलले गालीगलाैज र अपशब्द प्रयोग रोक्ने कुरा उचित भए पनि संविधान प्रदत्त अभिव्यक्ति र सञ्चारको अधिकार हनन गर्ने कुरा निरंकुश र स्वेच्छाचारी हुने लेखेका छन्।
'यो कुरा, को व्यक्ति हार्छ वा जित्छ भन्ने नभई संविधान मिच्दै मनपरीतन्त्र लोकतन्त्रमा मान्य हुन्न भन्ने गम्भीर विषय हो' उनले लेखेका छन्।
रिजालले लेखेका छन्,'म नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य हो, मेरो मत रूख छापमा नै हो। तर, 'नो-नट-अगेन' भन्ने विचार लोकतान्त्रिक मूल्य र मान्यतासङ्गत छ। यसबारे निर्वाचन आयोगले दिएको निर्देशन युक्तिसङ्गत छैन, पुनर्विचार होस्।'
रमेशनाथ पाण्डेले चुनावमा सार्वभाैम मतदाताले "नाे, नट अगेन" भन्न नपाउनु जनताकाे प्रतिनिधि छान्ने सार्वभाैम अधिकार कुन्ठित हुनु भएको लेख्दै चुनावमा "एस वा नाे, नट अगेन" भन्ने जनताकाे अधिकार हरण हुनु प्रजातन्त्रकाे लागि अशुभ भएको बताए।
सो अभियानले समेत आफ्नो उदेश्य भ्रम फैलाउनु नभएको र संविधान प्तदत्त अधिकार प्रयोग गरेको बताएको छ।
कात्तिक ९, २०७९ बुधबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।