आजबाट नेपाल संवत् ११४३ सुरु, पृथ्वीनारायण शाहको पालासम्म मौलिक संवत्का रूपमा प्रचलित

काठमाडौं: नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ। चान्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक संवत्को सुरुआतसँगै आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल संवत् नेवार समुदायको नयाँ वर्ष समेत हो। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुशीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना र्याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरु गरेका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।
कात्तिक ९, २०७९ बुधबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।