डेंगुका कारण पत्रकार रानाको निधन 

डेंगुका कारण पत्रकार रानाको निधन 

बुटवल: रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार टेक मास्की रानाको निधन भएको छ। रानाको बुधबार बिहान निधन भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए।

स्याङ्जा स्थायी घर भएका रानालाई डेंगु सङ्क्रमण भएको थियो। साथै उनी निमोनियाका बिरामी समेत थिए। उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो।

डेंगु र निमोनियाका बिरामी उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो।

उपचारको लागि निरन्तर प्रयास गरे पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरे।

दुई दशकभन्दा लामो पत्रकारिता गरेका राना नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए। केही वर्षअघि मात्रै श्रीमती गुमाएका रानाको एक छोरा र दुई छोरी छन्।

कात्तिक ९, २०७९ बुधबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।