प्रधानमन्त्रीका प्रेस संयोजकदेखि जरिवाना नबुझाएकासम्मको नाम समानुपातिकबाट हट्यो

प्रधानमन्त्रीका प्रेस संयोजकदेखि जरिवाना नबुझाएकासम्मको नाम समानुपातिकबाट हट्यो

काठमाडौं : लाभको पदमा रहँदारहँदै समानुपातिक सूचीमा नाम राखेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारदेखि मतदाता सूचीमा नामै नभएका र जरिवाना नतिरेका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बन्द सूचीबाट ५ सय ५० उम्मेदवारको नाम हटेको  छ।

निर्वाचन आयोगले सबै दलको बन्द सूचीको अध्ययन गरेर निर्वाचन कानुन र आचारसंहिता उल्लङ्घनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरू, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरूको नाम हटाएको हो।

आयोगले सार्वजनिक गरेको सूची अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३ सय ६९ जनाको नाम हटेको छ।

उमेर नपुगेका प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम समानुपातिकको सूचीबाट हटेको छ। दोहोरो उम्मेदवारी परेका ६६ जनाको नाम समेत हटेको छ।

अल्पसङ्ख्यक र लैङ्गिक सूचनाको अस्पष्टताका कारण ३७ जनाको नाम हटेको छ। मतदाता नामावलीमा नाम नै नभएका ६ जना, प्रदेशसभामा उम्मेदवार भए पनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका १८ जनाको नाम सूचीबाट हटेको छ।

आयोगले मागेको कागजात पेस नगरेका ६ जनाको नाम बन्द सूचीबाट हटेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक ८, २०७९ मंगलबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।