अर्को उम्मेदवारलाई समर्थन गर्नेले कार्यालय खोल्न नपाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोक्दै सात बुँदे निर्देशन दिएको छ।
निर्देशनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने उल्लेख छ।
निर्देशन अनुसार प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्।
निर्देशन अनुसार समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने छन्। कार्यालय खोल्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगको निर्देशनमा उल्लेख छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरे त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न पाउँदैनन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ।
राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।
कात्तिक ८, २०७९ मंगलबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।