चुनाव जिते विवेकशील साझाले भ्रष्टको सम्पत्ति राष्ट्रियकरण गर्ने

काठमाडौं : विवेकशील साझा पार्टीले संसदीय निर्वाचनमा जितेमा भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने प्रतिबद्धता गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पार्टीले उच्चस्तरीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने र दोषीलाई सजाय दिन आयोग गठन गर्ने उल्लेख गरेको छ।
उसले जनप्रतिनिधिहरूको विषयमा राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था सुनिश्चित गर्ने उल्लेख छ।
चुनावी प्रतिरद्दतामा आत्मनिर्भर र दिगो अर्थतन्त्रको चार खम्बाको रूपमा प्रविधि, जलविद्युत्, कृषि र पर्यटनलाई राखिएको छ
नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, सम्पत्ति शुद्धीकरण विभागलाई स्वायत्त बनाउने, विदेशमा रहेका नागरिकको मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिरद्दतामा उल्लेख छ।
यसै गरी, संवैधानिक आयोगमा नियुक्ति हुन ४५ वर्षको उमेरको हद हटाएर युवा मैत्री बनाउने, सरकारी बेतनधारीको दलीय सङ्गठन खारेज गर्ने, न्यून आय भएका नागरिकलाई परिचय पत्र दिएर आवास लगायतको सुविधा दिने विवेकशील साझाको दाबी छ।
घोषणापत्रले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समीक्षा बास्कोटाले केही व्यक्तिहरूले पार्टी छोडेर जाँदैमा पार्टी कमजोर नभएको दाबी गरेकी थिइन्।
रवीन्द्र मिश्र सहितका नेताहरूले पार्टी छाडेर राप्रपामा गएका छन् भने मिलन पाण्डे लगायतका केही नेता अन्य दल र स्वतन्त्र उम्मेदवार बनेका छन्।
कात्तिक ८, २०७९ मंगलबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।