काठमाडाैं लगायतका शहर झलमल्ल हुँदा खलङ्गा दुई सातादेखि अन्धकार

काठमाडाैं : राजधानी काठमाडाैं लगायत देशका मुख्य शहर झलमल्ल हुँदा जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि अन्धकार छ।
असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध हुँदा यहाँकाे तिहारसमेत अन्धकारमा मनाउन बाध्य छन्।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढीपहिराबाट जुम्ला र कालीकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ।
उनले दुई सातादेखि विद्युत् आपूर्तिमा अवराेध नभएकाे दाबी गर्दै स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली वितरण भइरहेको बताए।
तर त्याे विद्युत् अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ। क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम भइरहेको छ।
सडक अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको केन्द्रले जनाएको छ।
कात्तिक ७, २०७९ सोमबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।