आगलागीबाट तीन वटा घर र त्यहाँ सञ्चालित पसलका सामग्री जलेर नष्ट, दुई करोडको क्षति

काठमाडौं: नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गए राति भएको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ। आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रूपक खड्काले जानकारी दिए।
उनका अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको हो।
“थापा दाजुभाइको तीन वटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा रु दुई करोड २० लाख बरारबको क्षति देखिन्छ”, प्रनाउ खड्काले भने, “पीडित परिवार र प्रहरी–प्रशासन घटना (आगलागी) नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्छ।”
रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु भएको आगो स्थानीय, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो।
आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ। आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए।
कात्तिक ७, २०७९ सोमबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।