आज कुकुर तिहार, आजै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं: तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ। आज कात्तिक कृष्ण चतुर्दर्शी भएकाले यस तिथिमा कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ।
कुकुर सधैँ मानिससँगै बस्ने प्राणी हो। कुकुर र मानवको सहअस्तित्व अनादि कालदेखि छ। प्राचीन कालमा मानिसले सिकार गरेर आफ्नो आहार प्राप्त गर्नका लागि, मनोरञ्जनका लागि र सुरक्षाका लागि कुकुर पाल्ने गरेको देखिन्छ।
युधिष्ठिरले आफ्नो कुकुरलाई छोडेर एक्लै स्वर्ग जान नमानेको कथाले पनि मानिस र कुकुरको साइनो कति गाढा थियो भन्ने कुरा पुष्टि गर्छ।
कुकुरलाई भैरवको वाहन मानिन्छ। भैरवको पूजा गर्दा उनको वाहन कुकुरको पनि पूजा गर्नुपर्छ। कुकुरलाई यमराजको पनि प्रिय जनावर मानिन्छ। कुकुरलाई खाना दिनाले अरिष्ट ग्रह शान्त हुने मान्यता पनि रहिआएको छ।
आज चतुर्दशी तिथि साँझ ५ बजेर ४४ मिनेटपछि सकिने भएकाले आजै लक्ष्मी पूजा पनि हुँदैछ। धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिने आजकाे रातलाई सुखरात्रि पनि भनिन्छ। विशेषगरी यो दिन लक्ष्मीको पूजा गरेमा ऐश्वर्यकी प्रतीक लक्ष्मीको घरमा बास हुने जनविश्वास तथा धर्मशास्त्रीय मान्यता रहेको छ।
आजकाे रात महिलाहरू घरघरमा गई भैलाे खेल्ने चलन समेत रहेकाे छ। आज घरआँगन सरसफाई गरी लक्ष्मी स्थापना गरिन्छ।
पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न सके धन तथा ऐश्वर्यमा वृद्धि हुने विश्वास गरिन्छ।
यस्तै सामान्यतः आजकै दिन पर्ने गाई पूजा भने भोलि परेको छ।
कात्तिक ७, २०७९ सोमबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।