कांग्रेसका महामन्त्री थापालाई स्पष्टीकरण

काठमाडाैं : निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हाे।
थापाले आफ्नो ट्वीटर एकाउन्टमार्फत गरेको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएको आयोगले भनेको छ।
उनले ट्वीटरमा ‘फेरी पनि काठमाडौँ क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरेका थिए।
कात्तिक ६, २०७९ आइतबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।