ओलीकाे चर्काे आलाेचना गर्दै सत्ता गठबन्धनका नेताहरूले भने– ‘कर्णालीको गठबन्धन बलियो भए अन्य प्रदेशमा प्रभाव पर्छ’

ओलीकाे चर्काे आलाेचना गर्दै सत्ता गठबन्धनका नेताहरूले भने– ‘कर्णालीको गठबन्धन बलियो भए अन्य प्रदेशमा प्रभाव पर्छ’

सुर्खेत : सत्तारुढ वाम लोकतान्त्रिकका शीर्ष नेताहरूले कर्णालीमा गठबन्धन बलियो भए मात्रै अन्य प्रदेशमा त्यसको प्रभाव पार्ने बताएका छन्।

आइतबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका शीर्ष नेताहरूले गठबन्धन लामो समयसम्म टिक्ने र देशलाई स्थायित्व दिने दाबी गरे।

कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको र कर्णालीमा गठबन्धन बलियो हुँदा यसको प्रभाव अन्य प्रदेशमा समेत पर्ने बताए।

गठबन्धन लामो समय टिक्ने दावी गर्दै उनले भने, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ। परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिएका छौं। यसको सन्देश कर्णालीबाट दिनुपर्छ।’

एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताए।

उनले गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दै अहिले त्याग गर्नेहरूलाई पछि विभिन्न नियुक्ति र पदहरूमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै माओवादीका केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा रहेकोले त्यसविरुद्ध सबै एकजुट भएको बताए।

उनले सत्ता गठबन्धन हुनुमा पनि कर्णालीको महत्वपूर्ण भूमिका रहेकोले यसलाई प्रभावकारी बनाउन गठबन्धन दलका नेता कार्यकर्तालाई अनुरोध गरे।

अध्यक्ष दाहालले ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउने मौकाको खोजीमा रहेको र उनको प्रउास असफल बनाएर देश र संविधानको रक्षा गर्ने गठबन्धनको मुख्य लक्ष्य रहेको बताए।

‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भन्ने ओली पछि संविधान बनाउँदा होस् या अन्य विभिन्न प्रक्रियाहरुमा उहाँ नै हस्ताक्षर गर्न अघि सर्नुभयो,’उनले भने, ‘अझै उनको सोचमा परिवर्तन आएको छैन। दुई पटक संसद् विघटनदेखि उहाँले गरेका राष्ट्रघाती कामहरू नै काफी छन्। त्यसैले गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिनुस्। गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गर्न अघि सरेको छ।’

अध्यक्ष प्रचण्डले १–२ दिनमै गठबन्धन विरुद्धको उम्मेदवारी फिर्ता गराउने गरी तयारी थालेको बताए।

त्यसैगरी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन्। उनले कर्णालीले प्रतिगमनको विरुद्ध पार्टीभित्रै ठूलो युद्ध गरेको कुरा ऐतिहासिक रहेको बताए।

‘नेपालको राजनीतिमा कर्णालीले ठुलो इतिहास कायम गरेको छ। केपी ओलीको प्रतिगनका विरुद्ध आफ्नो पद नै धरापमा राखेर फ्लोरक्रस गरेर यो गठबन्धन बनाउनेसम्मको काम गरेको छ,’ अध्यक्ष नेपालले भने, ‘कर्णाली एकजुट भए गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चित छ।’

उनले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए । उनले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरूले गरेको योगदानलाई खेर जान नदिने बताए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हतौडा र कलममा भोट हाल्न कुनै चिन्ता नमान्न अनुरोध गरेका छन्। उनले आधिकारिक उम्मेदवारको पक्षमा निष्ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

‘कर्णाली कांग्रेसका साथीहरूलाई म भन्छु हँसिया हथौडा र कलमबाट पछि नहट्नुहोला। हामीले यो देशलाई उन्नतिको बाटोमा लाने प्रयास गरेका छौं । हाम्रो चुनाव चिन्ह फरक होला तर, एजेण्डा सबैका एउटै हुन्,’ उनले भने।

कात्तिक ६, २०७९ आइतबार १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।