पोखरा महानगरद्वारा प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक

पोखरा : पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ।
आइतबार महानगरपालिका उप–प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरूमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको हो।
प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। अटेर गरे अर्कोपटकदेखि १ लाख रूपैयाँसम्म जरिवाना गर्नसक्ने कानूनी व्यवस्था रहेको उनले स्मरण गराइन्।
‘प्लाष्टिक जन्य पूmलका मालाहरूको प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौं,’ उनले भनिन्, ‘विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर पारेसँगै सरकाले बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको हो, अर्कोपटक यस्ता सामग्री बिक्री गरे १ लाख रूपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।’
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागीतामा गरिएको हो।
कात्तिक ६, २०७९ आइतबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।