
अन्तिम ओभरमा बिग्रिएको पाकिस्तानको बलिङ, विश्वकपको पहिलो खेलमा भारतसँग पाकिस्तान पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकप अन्तर्गत समूह चरणको पहिलो खेलमा भारतले पाकितानलाई पराजित गरेको छ।
१६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि विराट कोहलीले नटआउट ८२ रन बनाउँदा हार्दिक पाण्ड्याले ४०, सूर्यकुमार यादवले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ पाकिस्तानका मोहम्मद नवाज र हरिस रौफले दुई–दुई विकेट लिँदा नसिम शाहले एक विकेट लिए। अन्तिम ओभरमा बलिङ गर्न आएका नवाजले १६ रन दिए। उनले त्यो ओभरमा मात्र एउटा नो बल र दुईवटा वाइड दिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन जोड्यो। उसका लागि सान मसुदले नटआउट ५२ रन बनाउँदा इफ्तिखर अहमदले ५१ रन जोडे। शाहिन साह अफ्रिदीले १६ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन्।
बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पाण्ड्याले समान तीन–तीन विकेट लिँदा मोहम्मद सामी र भुवनेश्वर कुमारले एक–एक विकेट हात पारे।
जितसँगै भारत समूह ‘२’को शीर्ष स्थानमा छ। यो समूहमा भारत र पाकिस्तानसँगै बंगलादेश, नेदरल्याण्ड, दक्षिण अफ्रिका र जिम्बावे छन्।
कात्तिक ६, २०७९ आइतबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।