चुनावमा गरेका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेँ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा गरेका ८० प्रतिशतभन्दा धेरै प्रतिबद्धता पूरा गरेकाे दाबी गरेका छन्।
काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै उनले आगामी दिनमा पर्यटकीय नमूनास्थल बनाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरू, सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण-संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरू निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुलहरू निर्माणतर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेकाे उनकाे दाबी छ।
आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले बसन्तपुर-स्वयम्भू-ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उनकाे भनाइ छ।
सम्पदाक्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उनले बताए। स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रूपमा अघि बढाएको उनकाे दाबी छ।
कात्तिक ६, २०७९ आइतबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।