७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडाैं : मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएकाे छ।

प्रत्यक्षतर्फ ४० प्रतिशत र समानुपातिकतर्फ शतप्रतिशत मतपत्र छपाइ भएकाे निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए।

आइतबारसम्म प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ। जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ। आयोगको पछिल्लो तथ्याङ्क अनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन्।

यी मतदाताहरुले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब ९ वटा जिल्लमा मात्र मतपत्र ढुवानी हुन बाँकी छ।

ढुवानी भएकामध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ।

अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ।

कात्तिक ६, २०७९ आइतबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।