सन्दीपलाई थप दुई दिन हिरासतमा राखिने, जिल्ला अदालतले दियो अनुमति

काठमाडौं: नाबालिग बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखिने भएको छ। नेपाल प्रहरीलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले थप दुई दिन म्याद थप गरिदिएको हो।
यसअघि चार दिनको म्याद थप गरिएको थियो। सो समयसीमा आज सकिएपछि प्रहरीले सन्दीपलाई अदालतमा उपस्थित गराएको हो।
सन्दीपलाई गत असोज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। उनीमाथि १७ वर्षीया नाबालिगको बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी परेको थियो।
यता सन्दीपले भने आफूहरू होटेलमा सँगै बसेको तर बलात्कार भने नगरेको दावी गर्दै आएका छन्।
प्रहरीले अनुसन्धानका लागि अधिकतम २५ दिन हिरासतमा राख्ने अनुमति पाउँछ। विशेष परिस्थितिको अवस्थामा थप १० दिन थपिन सक्छ।
कात्तिक ६, २०७९ आइतबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।