ब्रेकफेल भएर बस पल्टिँदा २३ जना घाइते

काठमाडौं: पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भएर सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र तीमध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ।
बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए।
उनका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो।
कात्तिक ६, २०७९ आइतबार ११:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।